शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

देउवा–ओली भेटको अर्थ

सोमबार, असार १७ २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार अचानक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। कुनै पूर्वतयारीबिना देउवा पत्नी आरजु राणासहित बालकोट पुगेका थिए।

कांग्रेससँग रोष राखेका ओलीले पनि सहजताका कारण देउवाको आतिथ्यता गर्नुलाई अन्य दलहरूले पनि आश्चर्यका रुपमा हेरेका छन्। गठबन्धन संकटमा परिरहेको भन्ने टिप्पणीबीच यो भेट राजनीतिक रुपमा चासोपूर्ण छ।

सत्ता गठबन्धनमा खटपटकाबीच भएको भेटमा सम्भावित सरकार गठन वा समीकरणका विषयमा पनि कुराकानी भएको दाबी गरिन्छ। तर, बालकोट स्रोतका अनुसार अहिले त्यस विषयमा चर्चा भएको होइन। ‘सामान्य र औपचारिक भेटवार्ता हो, राजनीतिक विषयमा कुराकानी हुनु नयाँ विषय भएन तर समीकरणका विषयमा नै कुराकानी भएको भन्ने जानकारीमा छैन’, स्रोतले भन्यो।

यता नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल तिव्रताका साथ कार्यान्वयनमा गएको छ। यहि प्रकरणमा बिचौलियाले आरजु राणाको नाम लिएको अडिओ पनि सार्वजनिक भएको थियो। भेटमा यस प्रकरणको छानबिनका विषयमा पनि कुराकानी भएको उच्च स्रोतको दाबी छ।

पछिल्लो समय कांग्रेस र एमाले मात्रै राजनीतिक प्रतिस्पर्धी भएको भन्ने चर्चा चल्न थालेको छ। बीचका केही समय कांग्रेस नेता डा. शेखर कोइरालाले स्थिर सरकार निर्माणमा कांग्रेस एमाले सहकार्य अनिवार्य रहेको पनि बताउँदै आएका थिए।

धेरै विषयका बारेमा खुलासा नभए पनि यो भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ। देउवा हत्तपत्त भेटका लागि अन्य दलका शीर्ष नेताको निवासमा पुग्ने गरेका छैनन्। यसैले पनि यो भेटलाई महत्वका साथ हेरिन्छ।

उक्त भेटपछि एमाले अध्यक्ष ओलीले आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भेट गरेका छन्। बालुवाटारमा यो भेट भएको हो।

बालुवाटारमा देउवासँग भएको भेटकै विषयमा प्रचण्डसँग ओलीको वार्तालाप भएको अड्कल काटिएको छ। सत्ता समीकरण बदलिने हो कि भन्ने आशयका साथ यी उच्च स्तरका वार्तालाई हेरिने गरिएको छ।