काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ को प्रदर्शन रोकिएको छ । चलचित्रले सेन्सर प्रक्रिया पूरा नगरेको भन्दै चलचित्र विकास बोर्डले रिलिज रोकेको हो । ‘आचार्य’लाई १३ वर्षपछि गत शुक्रबार अर्थात् असार ७ गतेबाट पुनः प्रदर्शन गरिएको थियो । तर, चलचित्र विकास बोर्डले एक सातामै चलचित्रको रिलिज रोकेको हो । चलचित्रलाई पाँच वर्षपछि पुनः प्रदर्शन गर्दा सेन्सर गर्नुपर्ने प्रावधान भए पनि ‘आचार्य’को सेन्सर नगरिएको भेटिएपछि बोर्डले चलचित्रको प्रदर्शन रोकेको जनाएको छ ।
तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले ‘आचार्य’को प्रदर्शनको विषयमा बोर्डसँग स्पष्टिकरण सोधेको थियो । यसपछि बोर्डको अनुगमन समितिले अनुगमन गर्दा सेन्सर प्रक्रिया पूरा नगरी चलचित्र चलिरहेको भेटिएपछि प्रदर्शन स्थगित गरिएको जनाइएको छ । बिहीबारदेखि देशभरका हलबाट चलचित्र हटिसकेको छ ।
‘आचार्य’का निर्माता रोशन राईले भने चलचित्रलाई सेन्सर गर्न प्रयास गरेको भए पनि कानुनी प्रावधानले गर्दा सम्भव नभएको बताए। पाँच वर्ष कटेको चार महिनाभित्र चलचित्रलाई सेन्सर गर्नुपर्ने प्रावधान रहेकाले ‘आचार्य’ १३ वर्षअगाडि रिलिज भएको र जरिवाना तिरेर पुनः सेन्सर गर्न खोज्दा पनि नमिलेको उनको भनाइ छ ।
गायक आचार्यप्रति श्रद्धाञ्जलि स्वरूप ‘आचार्य’लाई पुनः प्रदर्शन गरिएको थियो । प्रशान्त रसाइलीको निर्देशनमा बनेको चलचित्रमा सत्यराज आचार्य, सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतको अभिनय छ । यो चलचित्र २०६८ साल ९सन् २०११०मा पहिलोपटक रिलिज भएको थियो । चलचित्रमा सत्यराजले पिता भक्तराजको भूमिका निभाउनु भएको छ । चलचित्रलाई देवजंग थापाले पुनः सम्पादन गरका हुन्।