काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु कम्युनिष्ट पार्टीबीच एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको समेत बताए ।
क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनले जिकिर गरे । सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग आवश्यक रहेको बताउँदै अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने बताए ।
जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरुको पनि र जनतालाई निराश हुन नदिने गरी सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले कम्युनिष्ट र सबै लोकतान्त्रिक शक्तिहरु एकतावद्ध भइ नकारात्मक भाष्य चिर्न लाग्नुपर्ने बताए ।