काठमाडौं । तत्कालीन नेकपा (एमाले)का महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ।
जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ।
तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।
भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।
फाण्डेसनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जबज : राजनीतिक विकास र स्थायित्व विषयक बिचार गोष्ठी आयोजना गर्न लागेको हो ।
आज दिउँसो १ः३० बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यक्रम आयोजना गरिएको फाण्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले जानकारी दिए। सोही कार्यक्रममा फाण्डेसनले हरेक वर्ष प्रदान गर्ने मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजंघा चिया बगान केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पाण्डेले बताए।
कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।