काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन गरिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकले कानुनमन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।
कानुनमन्त्री गिरी, संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधु मरासिनीलाई माग सम्बोधन गर्न जिम्मा दिइएको हो। समितिमा संसद सचिवालयका महासचिव पाण्डेय र अर्थ मन्त्रालयका सचिव मरासिनी सदस्य रहनेछन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, अर्थमन्त्री वर्षमान पुन र मुख्य सचिव डा बैकुण्ठ अर्याल सहभागी थिए।
अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै संघीय संसदका कर्मचारीहरु आन्दोलनमा छन् ।
यसअघि उनीहरुले ब्ल्याक आउट गरेका कारण संसद बैठक नै प्रभावित भएको थियो ।