काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दल नेकपा माओवादी केन्द्रसँग संसदमा ‘जादुयी नम्बर’ भएकाले पूरै समय नै आफूले सरकार चलाउने दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा पार्टीनिकट तामाङ मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार २०८४ सम्म टिक्ने भएकाले ढुक्क भएर काम गर्न कार्यकर्तालाई आग्रह गरे ।
नेताकार्यकर्ताले उनले सरकार ढलिहाल्छ भनेर बाहिर चलेको हल्ला नपत्याउन आग्रह गरे ।
‘डेढ वर्ष भयो म सरकारमा बसेकै छु । तरिका मिल्यो भने पूरै अवधि ५ वर्ष नै काम गरिन्छ । तपाईँहरू पनि ढुक्क भएर काम गर्नू । हामीलाई हटाउन सजिलो छैन । संसद्मा थोरै सिट छ भनेर चिन्ता गर्नु पर्दैन । हाम्रो जादुयी नम्बर छ,’ उनले भने, ‘त्यो जादुले अनेक गरेर मिलाइहाल्छ । चिन्ता लिनुपर्ने केही छैन । तैपनि हामीले राजनीतिक दलहरूसँग जे सम्झौता गरेका छौँ । त्यो समझदारीप्रति हामीले जहिले पनि इमान्दारिता अपनाएका छौं । इमान्दारीपूर्वक नै कार्यान्वयन गर्नेछौं । त्यसैले आज के हुन्छ, भोलि के हुन्छ भन्नु बेकारको कुरा हो । त्यतातिर तपाईँहरूले दिमाग लगाउनै पर्दैन, ढुक्क भएर काम गर्नुहोस् ।’
उनले राजनीतिक दलसँग गरेको सहमति इमानदारीपूर्वक नै कार्यान्वयन गरेर अगाडि बढ्ने बताए ।
अब छिट्टै केन्द्रीय समिति बैठक बसेर पार्टीका संगठनहरुलाई पनि चलायमान बनाउने निर्णय गर्ने उनले बताए । कार्यकर्तालाई फुर्सद नदिने गरी कामको जिम्मेवारी दिने उनको भनाइ छ ।
‘अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन । त्यसकारण अब यो अन्तिम समयसम्म साथीहरु, नेताहरु कार्यकर्ताहरु कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं’, प्रचण्डले भने ।
प्रचण्डले गत फागुन २१ गते नेपाली कांग्रेससँगको सहकार्य तोड्दै नेकपा (एमाले)सँगको सहकार्यलाई अघि बढाएका थिए । त्यसकाे एक वर्ष अघि उनले एमालेसँगकाे गठबन्धन ताेड्दै कांग्रेससँग गठबन्धन गरेका थिए ।
एमालेसँग नयाँ गठबन्धन हुँदा आलोपालो प्रधानमन्त्रीको कुरा आएको थियो । प्रधानमन्त्रीमा प्रचण्डपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबीलाई स्वाभाविक मानिएको छ । अझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आलोपालोमा कम्तिमा १ बर्ष आफू प्रधानमन्त्री हुने दाउमा छन् ।
यस्तोमा शनिवार २०८४ सम्म आफैँ प्रधानमन्त्री रहने दाबी प्रचण्डबाट आएको छ । यो अर्थपूर्ण रहेको विश्लेषण गरिएको छ ।
केही बाहिरिएका समाचारहरुलाई आधार मान्ने हो भने प्रधानमन्त्री प्रचण्ड फेरि एमालेसँगको समीकरण तोड्दै कांग्रेससँग हिमचिम बढाइरहेका छन् । कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुलाई त्यसको जिम्मेवारी पाएका छन् ।
संसदमा प्रचण्डले आफ्नो निरीहता प्रस्तुत गरेका आधारमा पनि उनको सत्तारुढ घटनक एमालेसँगको सम्बन्ध चिसिँदै गएको प्रष्ट हुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वयमले सरकारले ल्याएको बजेटमा असन्तुष्टि व्यक्त गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१/८२ सालको बजेट बनाउँदा मन्त्रीहरूले आफ्नो निर्देशन नै नटेरेको भनेर संसदमै ‘निरीहता’ प्रकट गरेका थिए।