काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको तयारी सुरु गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुख र भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गर्दै कार्यान्वयन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशनसमेत दिए ।
उनले बजेटको आकार कुल गार्हस्थ उत्पादनसँग मेल खाने खालको भएकाले कार्यान्वयन सहज हुने उनको दाबी छ ।
अर्थमन्त्री पुनले खर्च बढाउने गरी र कार्यान्वयन हुनसक्ने गरी वस्तुगत कार्ययोजना बनाउन निर्देशन दिँदै जति समयमै गर्न सकियो र खर्च बढाउन सकियो त्यति नै बजार चलायनमा हुने बताए। उनले भने, ‘हामीले अहिले असारमा गरिरहेको खर्च छ महिनाअघि गर्न पाएको भए दुर्ई र तीनपटक बजारमा ‘सर्कुटेल’ हुन्थ्यो । त्यसबाट राजस्व संकलन हुन्थ्यो, रोजगारी सिर्जना हुन्थ्यो । हामी परम्परागत नहोऔँ, समयमै र छिट्टै काम गर्ने गरी योजना बनाऔँ ।’ पहिलो, दोस्रो र तेस्रो त्रैमासिक योजना बनाएर काम गर्न र दशैं तिहारजस्ता ठूला पर्वको बिदा ख्याल गरेरमात्र कार्ययोजना बनाउन पनि उनले निर्देशन दिए। स्रोतले नधान्ने गरी २० खर्बको बजेट आउने बजार हल्लाबीच १८ खर्ब ६० अर्बको वस्तुवादी बजेट ल्याउन सकिएकामा सन्तोष लागेको भन्दै मन्त्री पुनले नयाँ आयोजनाभन्दा चालु र ठूला आयोजनालाई केन्द्रित गरेर बजेट ल्याएको बताए ।
चालु आर्थिक वर्षको बजेटमा अवस्तुवादी राजस्व संकलनको लक्ष्य राखिएकाले लक्ष्यभन्दा धेरै काम राजस्व संकलन भएको उहाँको जिकिर थियो । अर्थमन्त्री पुनले भने, ‘म अघिल्ला अर्थमन्त्री वा अरू कसैलाई आरोपित गर्न चाहन्न । कार्यान्वयन हुनै नसक्ने ४२ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य निर्धारण हुनुमा अर्थमन्त्री वा हाम्रो प्रणाली कसको दोष हो । त्यसको पनि समीक्षा हुनुपर्ला ।’
पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ३२ अर्ब बजेट विनियोजनको चर्चा गर्दै उनले पूरा नगरी नहुने अरू चालु आयोजनाको निर्माण सक्ने गरी बजेट व्यवस्था गरिएको बताए । साथै उनले स्थानीय तहमा जाने समानीकरण रकम तत्काल निकासा गर्न पनि निर्देशन दिए ।
आगामी आर्थिक वर्षको बजेट वस्तुगत र यथार्थपरक आएकामा सबैतिरबाट प्रशंसा भएको भन्दै मन्त्री पुनले नेपाल राष्ट्र बैंकले बजेटसँग तालमेल हुने गरी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गरे । छलफलमा गभर्नर महाप्रसाद अधिकारीको पनि सहभागिता थियो ।