शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

पुनः मतदानको माग गरेका झलनाथको रिट खारेज

बिहिबार, असार ६ २०८१

काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा पुनः निर्वाचनको माग गर्दै झलनाथ खनालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले रिट खारेज गरिदिएको सर्वोच्चका सहप्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए ।

एकीकृत समाजवादीका नेता खनाल इलाम– १ प्रतिनिधिसभाको चुनावमा पराजित भएका थिए । उनी एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । बस्नेतले २५ हजार ७५३ मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।

पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुनः मतदानको माग गर्दै २०७९ मंसिर २७ गते रिट दायर गरेका थिए । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो ।