काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा सुपर आठ टिमको टुंगो लागेको छ ।
आज बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेसँगै आइसिसी टी-२० विश्वकप क्रिकेटमा पुग्ने सुपर आठ टिमको टुंगो लागेको हो ।
जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ। केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र जोड्यो।
आज श्रीलंका र नेदरल्याण्ड्सबीच भएको थियो । सो खेलमा श्रीलंका र नेदरल्याण्ड्सलाई पराजित गरे पनि श्रीलंका सुपर आठ पुग्नबाट बाहिरिसकेको छ । आज श्रीलंकाले नेदरल्याण्डसलाई ८३ रनले पराजित गरेको छ ।
नेपाल रहेको समूह ‘डी’बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ प्रवेश गरेका छन् । अपराजित दक्षिण अफ्रिका ८ अंकसहित शीर्ष स्थानमा र एक खेलमा पराजित बंगलादेश ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै सुपर ८ प्रवेश गरेका हुन् ।
आइतबार बिहान सम्पन्न खेलमा स्कटल्याण्डले प्रस्तुत गरेको १८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । अस्ट्रेलियाको यो लगातार चौथो जित हो ।
अस्ट्रेलियाको जित साबिक विजेता इंग्ल्याण्डका लागि वरदान साबित भएको छ । नेट रन रेटका आधारमा स्कटल्याण्डलाई पछि पार्दै इंग्ल्याण्ड सुपर ८ मा प्रवेश गरेको छ । दुई टोलीको अंक समान भए पनि इंग्ल्याण्डको रन रेट स्कटल्याण्डभन्दा राम्रो रहेको छ । स्कटल्याण्ड भने बाहिरिएको छ ।
इंग्ल्याण्डले शनिबार राती नामिबियालाई डकवर्थ लुइस नियमअनुसार ४१ रनले पराजित गरेको थियो । समूह चरणका सबै चारै खेल खेलिसकेका इंग्ल्याण्ड र स्कटल्याण्डको समान पाँचरपाँच अंक छ । तर, रन रेटका आधारमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सुपर ८ मा पुगेको हो । यसअघि भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेष्ट इण्डिज, अफगानिस्तान र अमेरिका सुपर-८ मा पुगिसकेका छन् । समूह ‘ए’बाट भारत समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको हो । यो समूहबाट अमेरिका उपविजेता बन्दै सुपर ८ मा स्थान बनाउन सफल भएको छ ।
यस समूहबाट बलियो टोली पाकिस्तान, क्यानडा र आयरल्याण्ड समूह चरणबाटै बाहिरिन पुगेका छन् ।
त्यस्तै, समूह ‘बी’बाट समूह विजेता बनेको अस्ट्रेलिया र उपविजेता बनेको इंग्ल्याण्ड सुपर ८ मा प्रवेश गरेका छन् । यही समूहबाट स्कटल्याण्ड, नामिबिया र ओमान बाहिरिएका छन् ।
समूह ‘सी’मा अफगानिस्तान र वेष्ट इण्डिजले अर्को स्थान पक्का गरे पनि समूह विजेता को बन्ने चाहिँ टुंगो लाग्न बाँकी छ । शीर्ष दुई टोली मंगलबार एकअर्कासँग आमनेसामने हुँदैछन् । यो समूहबाट न्युजिल्याण्ड, युगाण्डा र पपुवा न्युगिनी समूह चरणबाटै बाहिरिएका छन् ।
नेपालसमेत रहेको समूह ‘डी’बाट दक्षिण अफ्रिका अर्को चरणमा पुगेको छ ।
सुपर ८ चरणका खेलहरू असार ५ गतेदेखि सुरु हुनेछन् । यस चरणको पहिलो खेलमा अमेरिकाले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
सुपर ८ को ग्रुप-१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप-२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका परेका छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ ।
यसअघिको टी-२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले जितेको थियो । अस्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट ग्राउण्डमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै सन् २०१० पछि इंग्ल्याण्डले दोस्रोपटक टी-२० विश्वकपको उपाधि उचालेको थियो । यसअघि इंग्ल्याण्डले सन् २०१० मा पनि उपाधि जितेको थियो । इंग्ल्याण्डबाहेक सह(आयोजक वेष्ट इण्डिजमात्र दुई पटक टी-२० विश्व च्याम्पियन बनेको छ ।
यसपालि पनि इंग्ल्याण्डसँगै अस्ट्रेलिया र भारतलाई ट्रफी जित्ने ठूलो दाबेदार मानिएको छ । सन् २०२१ देखि हालसम्म अस्ट्रेलियाले टी-२० विश्वकप, एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेको छ । भारतीय टोलीले सन् २००७ यता टी-२० विश्वकपको उपाधि जित्न सकेको छैन । साथै, सन् २०१३ देखि भारतले अन्य ढाँचामा पनि आइसिसी ट्रफी जित्न सकेको छैन ।