काभ्रे । राजन भुर्तेलको अध्यक्षतामा नेकपा एमाले काभ्रे जिल्ला कमिटीकाे नयाँ कु्शल नेतृत्व चयन भएको छ ।
बुधबार सम्पन्न भएको एमाले काभ्रेको १३औं अधिवेशनबाट अध्यक्षमा भुर्तेल विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी चन्द्रबहादुर लामालाई ८१ मतान्तरले हराउँदै भुर्तेल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका लागि भुर्तेलले ३८० मत र लामाले २९९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
आगामी कार्यकालका लागि उपाध्यक्षमा देवशागर लामा सचिवमा राजकुमार सापकोटा उपसचिवमा रत्नकुस रन्जितकार र उपसचिव महिलातर्फ सुर्यमाया दनुवार लगायत अधिवेशनबाट निर्वाचित भएका छन् ।
विद्युतीय मेसिनबाट मतदान सम्पन्न भएको निर्वाचनमा ६७९ मत खसेको थियो । कुल ६८६ जना मतदातामध्ये ७ जना निर्वाचनमा सहभागी भएका थिएनन् ।
सर्वसम्मतको प्रयास भएपनि अन्तिममा यहाँ दुई प्यानलबिच निर्वाचन भएको थियो ।
धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए ।
जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी एक सय पाँच जना निर्वाचित भएका छन् ।