शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

भरत ताल निर्माणमा अनियमितता : बागमतीका नगरप्रमुख थापासहित ६ जनाविरुद्ध मुद्दा

बुधबार, जेष्ठ ३० २०८१

काठमाडौं । सर्लाहीस्थित भरत ताल निर्माणको क्रममा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा वाग्मती नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख भरतबहादुर थापा (हाल निलम्बित), उपप्रमुख लीलाकुमारी मोक्तान, नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ३० करोड २९ लाख रुपैयाँ बिगो कायम गरेको छ भने आरोपितबाट बिगोबमोजिम जरिवाना असुल र कैद सजाय मागदाबी गरेको छ ।

ताल निर्माणको क्रममा नदीजन्य पदार्थको बिक्रीवितरणमा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारको अनुसन्धानबाट थापालगायतले फर्जी वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी गरी त्यसले तोकेको सीमाभन्दा १० गुणा बढी नदीजन्य पदार्थ उत्खनन गरेको खुलेको छ । प्रतिवेदनले ताल निर्माण गर्दा ५ लाख घनमिटर मात्रै ढुंगा, गिटी, बालुवालगायत उत्खनन स्वीकृति दिइएकोमा त्यसविपरीत ४७ लाख घनमिटरभन्दा बढी उत्खनन गरेको पाइएको अख्तियारले अभियोग पत्रमा उल्लेख गरेको छ । तालको गुरुयोजनासमेत स्वीकृत नगराएको पाइएको छ ।

यसअघि २८ चैतमा पनि अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे थियाे । थापा माओवादीबाट निर्वाचित नगरप्रमुख हुन् । उक्त मुद्दा विशेष अदालतबाट किनारा नलाग्दै थापाविरुद्ध अर्को मुद्दा दायर भएको हो ।