काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत पहाडी भू-भागमा बदली भइरहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार सोमबार नेपालमा मनसुन भित्रिएको हो । नेपालमा मनसुन भित्रिने सरदर मितिभन्दा तीन दिनअघि मनसुन भित्रिएको महाशाखाले जानकारी दिएको छ ।
आज कोशी, बागमती, गण्डकीलगायत प्रदेशका पहाडी भू-भागमा बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
बुधबार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ ।
त्यस्तै बिहीबार कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।