शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

सोमबार, जेष्ठ २८ २०८१

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् ।

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।

६० सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र) का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

२७ सांसद रहेका नेपाली कांग्रेका मुख्यमन्त्री पाण्डे विश्वासको मत पाउनेमा ढुक्क देखिएका छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद र अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका सांसद र अध्यक्ष डा. बाबुराम भट्टराई र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सँग काठमाडौंमा विश्वासको मतबारे सहमति गरेर मुख्यमन्त्री पाण्डे पोखरा फर्केको चर्चा छ ।