शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

कोशी सरकारविरुद्धको रिट हेर्न नमिल्नेमा

आइतबार, जेष्ठ २७ २०८१

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ हेर्न नमिल्ने सूचीमा परेको छ ।

रिटको सुनुवाइका लागि आज न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, सुनिलकुमार पोखरेल र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो ।

यसमध्ये न्यायाधीश पोखरेलले यसअघि कोशीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिटमा कानुन व्यवसायीका रूपमा बहस गरेका थिए । सोही कारण आजको इजलासमा पोखरेल बस्न नमिले पछि रिट हेर्न नमिल्नेमा परेको हो ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गर्नु संविधानविपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

कार्की अल्पमतमा परे पनि विश्वासको मत परीक्षण नगरेका कारण २६ वैशाखमा स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुखले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।