शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

दुई दिनका लागि संसद बैठक सूचना टाँसेर स्थगित

आइतबार, जेष्ठ २७ २०८१

काठमाडौं । आज र भोलिका लागि तय भएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ।

सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले आज र भोलिका लागि तयर भएको दुई दिनको संसद बैठक स्थगित गर्ने निर्णय गरेको हो। आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो।

अब २९ गतेदेखि नियमित छलफल हुने बताइएको छ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित भए ।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी भएको थियो ।