शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

उत्तेजक अभिव्यक्ति नदिन बालेनलाई योगेश भट्टराईको सुझाव

जेलजीवनको उपहास गरेकामा आपत्ति

मंगलबार, जेष्ठ २२ २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौँ महानगरप्रमुख शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाए । “हामी काठमाडौँ महानगरपालिकाका प्रमुखलाई सहयोग गर्न तयार छौँ । एमलेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौँको फोहोर व्यवस्थापनका लागि सहयोग गरेको हो,” सांसद भट्टराईले प्रमुख शाहप्रति लक्ष्य गर्दै भने, “काठमाडौँलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ ? आउनूहोस् हामीसँगै काम गरौँ । उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु ।”

सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गरे । उनले सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको बताए ।

“गिरिबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको छ”, सांसद भट्टराईले भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण जनताका धेरै विषय सदनमा उठाउन नसकिएको बताए ।

कांग्रेस र गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरणमा पार्टीका अध्यक्ष ओलीलाई जोडेपछि एमाले नेताले आक्रोश पोखे ।

उनले भने, ‘गिरीबन्धुको विषयमा यही सदनबाट हामी सबैले मिलेर कानून बनाएका हौं । त्यसमा कांग्रेसको पनि केही संशोधन प्रस्ताव थिएन । अहिले कार्यान्वयनको विषयमा अदालतले केही प्रश्न उठाएको छ । त्यसको हामी सम्मान गर्छौं, तर अहिले गिरीबन्धुको विषय उठाएर हाम्रो पार्टीमाथि, हाम्रो अध्यक्षमाथि जसरी नियोजित ढंगले हस्तक्षेप गर्ने, प्रचार गर्ने, आरोप लगाउने जुन खालका षडयन्त्रहरु भएका छन् ।’

उनले नेकपा एमाले अहिलेसम्म भएका हरेक घटनामा छानविनको लागि तयार रहेको बताए । उनले कसैले पनि एमाले माथि कसी लगाउन नपर्ने समेत बताए ।