विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा केन्द्रिय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताएका छन् ।
बिहीवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केन्द्रको समीकरण भन्दा बाहिर गएर मधेस प्रदेशमा पनि अर्को सरकार नबन्ने दाबी गरे ।
एकीकृत समाजवादकिा अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रुपले नलिएको बताउँदै उनले अध्यक्ष नेपाल पहिलाबाटै कहिले यता र उता जोडिने जस्तो देखिएपनि अहिलेको समीकरण भन्दा बाहिर नजानेमा स्पष्ट रहेको बताए ।
‘माधवजी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई मैले त्यत्ति असहज ठानेको छैन । माधवजी पहिलादेखि नै उता पनि यता पनि जोडिने जस्तो देखिएको त थियो तर अहिले मेरो बिहान कुरा हुँदा माधवजी यो समीकरण भन्दा बाहिर हाेइन, हुँदैन भन्नेकुरा क्लियर गर्नुभएको छ ।’ उनले भने, ‘कोशी प्रदेशलाई उसको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेटको व्यवस्था भएको छ । कोशीलाई कम बजेट भयो भन्नेकुरा सही होइन । बजेटमा धेरै चिज नयाँ छ । उत्पादन, उत्पादकत्व र रोजगारीलाई केन्द्रित गरेर बजेट आएको छ । समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को सरकार बन्दैन ।’
उनले कोशी प्रदेशलाई बजेट कम भयो भन्नेकुरा सही नभएको बताउँदै प्रदेशको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेट विनियोजन गरिएको जिकिर गरे ।
सरकारले आजदेखि ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशबाट सुरु गर्दैछ।
कोशी प्रदेशको विराटनगरस्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ । सोही कार्यक्रमका लागि प्रधानमन्त्री विराटनगर गएका हुन् ।