काठमाडौं । धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
प्रहरी स्रोतका अनुसार जिल्ला अदालत धनुषाबाट उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो।
०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको छ ।
सिरोहियाले वि.सं. २०५७–०६–२९ मा नागरिकताको प्रतिलिपी लिँदा शरदकुमार भट्टराई धनुषाका प्रमुख जिल्ला अधिकारी थिए भने दाहाल शाखा अधिकृत रहेको बुझिएको छ।
उनको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएका हुन् । उनी दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।
सिरोहियालाई नागरिकता ऐन २०२० अनुसार वंशजको नागरिकता दिइएको नागरिकतामा उल्लेख छ । तर नागरिकता जारी भएको मितिसम्म उक्त ऐन लागु भएकै थिएन । त्यसैले तत्कालीन शाखा अधिकृत दाहाल अनुसन्धानमा तानिएका हुन् ।
सिरोहिया जनकपुरधाम उपमहानगरपालिका १ का स्थायी बासिन्दा हुन् । उनको बुवाको नागरिकतामा पनि वडा नम्बर १ नै उल्लेख छ । तर सिरोहियाले वडा नम्बर ५ बाट नागरिकता लिएको स्रोतको दाबी छ ।
नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया ९ दिनपछि बुधबार रिहा भइसकेका छन् ।