भरतपुर । जङ्गली हात्ती रोनाल्डोको नयाँ सन्तान जन्मिएको छ।
हात्ती प्रजनन केन्द्र खोरसोरमा रोनाल्डोको ३५औँ सन्तान जन्मिएको हो। प्रजनन केन्द्रमा रहेको हिमालीकलीले गएराति पोथी छावा जन्माएसँगै रोनाल्डोको सन्तान ३५ पुगेको हो।
रोनाल्डोको ३४औँ सन्तान गत शनिवार राति कर्णालीकलीले छावालाई जन्म दिएकी थिई।
प्रजनन केन्द्रमा जन्मने अधिकांश छावाका बाबु रोनाल्डो हो। चितवनमा घरपालुवा भाले हात्ती प्रजनन क्रियाकलापमा सक्रिय नहुने हुँदा जंगली हात्तीको संसर्गबाट ढोईहरु गर्भवती हुने गरेका छन्।
रोनाल्डोले प्रजनन केन्द्रलाई भरपूर सहयोग गर्दै आएको छ । रोनाल्डोले ‘कन्जरभेसन कूटनीति’ अन्तर्गत नेपालले कतारलाई उपहार दिन लागेका रुद्रकली र खगेन्द्रप्रसादजस्ता धेरै हात्ती जन्माएर वंश वृद्धिमा प्रजनन केन्द्रलाई सहयोग पु¥याएको छ ।
नेपालमा दुई सयका हाराहारीमा जङ्गली हात्ती छन् । जसमध्ये चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा ५५ देखि ६० वटा हात्ती भएको बताइन्छ । विशेषतः समूहमा बस्ने हात्ती प्रजनन योग्य उमेर भएपछि भाले समूहबाट बाहिरिने वा एक्लिने गर्छ ।