काठमाडौं । नेकपा एमालेको पहिलो राष्ट्रिय महिला भेला आजबाट सुरु हुँदैछ ।
जनसंगठन समन्वय संयन्त्रको आयोजनामा सुरु हुन लागेको भेलाको दिउँसो १२ बजे पार्टीकी पूर्व उपाध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् ।
यस्तै प्रमुख वक्ता एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रहने बताइएको छ।
२०६३ साल जेठ १६ गते एमालेका तत्कालीन उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं अखिल नेपाल महिला संघकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो । संसदको यही सङ्कल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो । नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आएको छ ।
भेलामा प्रज्ञा भवन कमलादीमा करिव पाँच हजार महिलाको सहभागितामा हुने छ । भेलाको दोस्रो दिन १७ गतेको कार्यक्रम तोकिएका प्रतिनिधिहरूका बीचमा कार्की बैंक्वेट, बबरमहलमा सम्पन्न हुने छ ।
भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, एमालेमा आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुने छन् ।
जेठ १७ गतेसम्म संचालन हुने भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको चर्चा गरिनुको साथै चुनौतीहरूका विषयमा छलफल गरिने छ ।