शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

कांग्रेसले लिखित माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी

सोमबार, जेष्ठ १४ २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जोडेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिथ्या आरोप लगाएको भन्दै सशक्त प्रतिवाद गने चेतावनी दिएको छ ।

बालुवाटारमा कांग्रेससँगको छलफलपछि बाहिरिने क्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसले एमाले र एमालेका अध्यक्षविरुद्ध लगाएको आधारहीन लाञ्छनाप्रति माफी माग्नुपर्ने बताए । उनले कांग्रेसले माफी नमागे आफूहरु प्रतिवादमा उत्रिने चेतावनी दिए ।

‘कांग्रेसले जेजस्ता आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपकाप्रति लिखित रुपमा क्षमा र सार्वजनिक रुपमा माफी माग्नुपर्छ। अन्यथा, नेपाली कांग्रेससँगको सम्बन्ध ठिक ढंगले अघि बढ्न सक्दैन। नेकपा एमाले यस्ता अरोप सुनेर बसिरहन सक्दैन,’ उनले भने।

उनले प्रायोजित, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लान्छना कांग्रेसले घोषणा गरिरहेको बताए।

‘पछिल्ला दिनमा नेकपा एमाले र विशेषगरी पार्टी अध्यक्षविरुद्ध प्रायोजित, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लान्छना घोषणा गरिरहेका छन्। सबैभन्दा पहिला कांग्रेसलाई यस्ता लान्छनाबाट पछि हट्न आग्रह गर्न चाहन्छु,’ उनले भने।

आइतवार कांग्रेस भ्रातृ संगठनले राजधानीमा गरेकाे विरोध प्रदर्शनमा पनि ओलीविरुद्ध नाराबाजी गरिएको थियो ।

सोही कार्यक्रममा बोल्दै महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताले गिरीवन्धु टी स्टेट प्रकरणलाई लिएर ओलीमाथि आरोप लगाएका थिए ।

शर्माले गृहमन्त्री रवि लामिछानेको रास्वपा र एमाले अध्यक्ष ओलीबीच सहकारी प्रकरणमा लामिछानेलाई ओलीले र गिरिबन्धु टिस्टेटका विषयमा रास्वपाले कुरा नउठाउने सहमति भएको आरोप लगाएका थिए ।