शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

संसदीय समितिको कार्यादेश टुंग्याउन आज शीर्ष नेता बस्दै

आइतबार, जेष्ठ १३ २०८१

काठमाडौं : सहकारीको बचत अपचलन प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आइतबार बैठक बस्ने तय भएको छ।

शनिबार टुंगोमा नपुगेकाले बैठक आइतबार बिहान ९ बजेका लागि तय गरिएको हो।

कार्यादेशमा सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बस्न लागेको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

शनिबार साँझ कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए।

कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री र रवि लामिछानेको नामै उल्लेख गर्ने कि नगर्ने भन्नेमा सत्तारुढ र प्रतिपक्ष दलबीच सहमति जुटेको छैन । यद्यपि कार्यादेशमा दुवै पक्ष सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन् ।

संसदीय समितिको कार्यादेश टुंगो लगाउन बनेको समितिमा नेकपा एमालेका नेता एवम् कानुन मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन भएको थियो । कार्यदलमा गिरीसहित एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल छन् ।