काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहिया पक्राउपछि यतिबेला पक्ष–विपक्षमा बहस भइरहेका छन् ।
एक पक्षले गृहमन्त्री रवि लामिछानेको योजनामा उनलाई पक्राउ गरिएको आरोप लगाएका छन् भने अर्को पक्षलेचाहिँ नागरिकता प्रकरणमा उनलाई पक्राउ गरेकाले प्रेस स्वतन्त्रतासँग यो विषयलाई जोड्न नहुने तर्क गरिरहेका छन् ।
यद्यपि मंगलबार पक्राउ परेका उनलाई प्रहरीले जाहेरी परेको जिल्ला धनुषा पुर्याइसकेको छ भने बुधबार नै जिल्ला अदालत धनुषामा म्याद थपका लागि उपस्थित गराइनेछ ।
प्रहरीले उनलाई पक्राउ गनपर्नुको ६ आधार र कारण प्रस्तुत गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर उनले नागरिकता लिनुपूर्व नै उक्त नम्बरको नागरिकता शिवजी साहु रोसीको नाममा जारी भइसकेको देखिएको उल्लेख गरेको छ ।
यसैबीच मंगलबार विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेटेका थिए । संसदमा गृहमन्त्री रवि लामिछानेमाथि खनिँदै आएका विपक्ष सांसदहरु कान्तिपुरको कार्यालय पुगेर आफू र आफ्नो दल सिरोहियाको साथमा रहेको बताएका थिए ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका सांसद रामहरि खतिवडासहित कांग्रेस सांसदहरू राजेन्द्र बजगाईँ,दीपक गिरी,राजु थापालगायत थापाथलीस्थित कान्तिपुरको कर्पोरेट कार्यालयमा पुगेर ऐक्यबद्धता जनाएका थिए ।
नेपालका अधिकांश संचार गृहहरुले सिरोहिया गिरफ्तारीको विरोध गरेका छन् । उनीहरुले आज फ्रन्ट पेजमा ‘तथ्य डक्दैन, कलम झुक्दैन’ भन्दै प्रेस ऐक्कवद्धता व्यक्त गरेका छन् ।
नागरिकताको कैफियतका कारण पक्राउ परेका सिरोहियालाई मिडियासँग जोडेर हेर्न नहुने भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति व्यक्त भएका छन् । नागरिकताको विषयमा जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जीलाई संस्थासँग जोडेर हेर्न नहुने टिप्पणी हुन थालेका छन् । मिडियामालिक वा संचारकर्मी कानुनभन्दा माथि नहुने तर्क पेश गर्दै धेरै सर्वसाधारणले कान्तिपुर मालिकको नागरिकता किर्तेका विषयमा अनुसन्धान हुनु ठीक भएको विचार व्यक्त गरेका छन् । नागरिकताको मुद्दा संस्थागत नभई व्यक्तिगत भएकाे उनीहरुकाे भनाइ छ ।