शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन, फेरि बैठक बस्ने

मंगलबार, जेष्ठ ८ २०८१

काठमाडौं । सहकारी ठगी सम्बन्धमा बनाइने संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलको बैठक निष्कर्ष बिना नै सकिएको छ । तर छलफल नटुंगिएपछि फेरि बस्ने भन्दै नेताहरू उठेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको कार्यदलको बैठकले आज पनि कार्यादेशको टुंगो लगाउन नसकेको हो ।

बैठकमा विभिन्न विकल्पहरुबारे छलफल भएको भएपनि निस्कर्षमा भने पुगि नसकेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । आजको कार्यदलको बैठक सकारात्मक भएको उनले बताए । उनले सहमतिका साथ नै एउटा कार्यादेश निर्माण गर्ने भन्नेमा सहमति बनेको बताए । मन्त्री गिरीले सहकारीमा भएको वचतको अपचलन सम्बन्धमा प्रभावकारी ढंगले छानबिन गर्ने, कारबाही गर्ने सुनिश्चितता हुने, वचतकर्ताहरुको वचतको सुनिश्चित हुनेगरी कार्यादेश बनाउने सहमति भएको बताए ।

कार्यदलका सदस्यहरुले भने बैठक सकारात्मक भएको बताएका छन् । बैठकपछि एमाले सचेतक एवं कार्यदलका सदस्य महेश बर्तौलाले सहमतिबाट विषयहरूलाई टुंग्याउने र संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको बताए ।

उनले भने, ‘विषयमा प्रवेश भएको छ, तर निष्कर्षमा पुगिसकेका छैनौँ । संसदको प्रक्रियाहरू अगाडि बढ्छ । त्यहाँ हुने प्रक्रियाले यहाँ समस्या गर्दैन ।’

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राखेको थियो भने एमाले र रास्वपा त्यो कुरामा सहमत नभएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले बीचको बाटोहरूको खोजी भइरहेको बताए ।

उनले भने, ‘हाम्रो उपस्थितिले टीओआर बनाउन अप्ठेरो हुन्छ भने हामी बस्न जरुरी छैन भन्ने कुरा पनि मैले राखेँ । एकजना व्यक्तिलाई दोषी करार गरेर छानबिन समिति बन्नु हुँदैन भन्ने हो । यसबाट गलत नजिर बस्छ । समस्या भएका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी सक्छौँ भन्ने लागेका छौँ ।’
गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो । कार्यदलले कार्यादेश टुंगो लगाउन नसक्दा संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।