काठमाडौं । सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बसेकाे कार्यदलको बैठक सिंहदरबारमा जारी छ ।
विशेष कारण हिजो बस्ने भनिएको कार्यदलको बैठक बस्न नसकेपछि आज बसेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको बैठकमा कांग्रेस र रास्वपाका पछिल्ला प्रस्तावमाथि छलफल हुने बताइएकाे छ ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको बताउँदै उनको नाम उल्लेख गर्दै छानबिनका लागि समिति बनाउनुपर्ने अडान राखेको छ भने रास्वपा लगायत माओवादी केन्द्र र एमालेले रविको नाम उल्लेख गर्न चाहेको छैन ।
कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो ।
संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । बैठकमा सबै सदस्य सहभागी छन् ।
कार्यदलका अन्य सदस्यमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् । कांग्रेसका तर्फबाट सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी छन् ।