शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

गन्दागन्दै पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारीसहित आठ जना पक्राउ

मंगलबार, जेष्ठ ८ २०८१

काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।”

परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।

परियारले कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, नवराज ढोडारी र नवराज घिमिरेलगायतको नाम लिएका छन् ।

यसैबीच  कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ।

आफूले विगत तीन/चार महिनादेखि मन्दिरको भेटी चोरी गर्दै आएको उनले बताए । सो क्रममा उनले उक्त भेटी आफूलाई चोर्न पठाएको समूहलाई दिने गरेको बताएका छन् । आफूलाई दिनको एक हजार पाँच सय दिने गरेको र दिनमा लगभग १५ हजार जति भेटी चोर्दै आएको उनले पक्राउको क्रममा बताएका छन् ।

पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी सङ्कलन हुन्छ।