काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । यो प्रतिनिधि सभामा योसहित प्रचण्डले चौथो पटक विश्वाको मत पाएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।
प्रधानमन्त्रीको पक्षमा १५७ र विपक्षमा शून्य मत पर्यो । तथस्टमा एक मत परेको सभामुखले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।
बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका विपक्षी दलहरुले नाराबाजी गरेका थिए ।
विरोधका बीच सभामुख देवराज घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए । त्यसपछि विश्वासको पक्ष र विपक्षमा मतदान भएको थियो ।
सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।