काठमाडौं । विपक्षी दलहरूको मोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए । सो बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको हो ।
सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो ।
कांग्रेसले सहकारीको बचत अपचलनको विषयमा छानबिन समिति नबन्दासम्म लामिछानेलाई बोल्न पनि अवरोध गर्दै आएको थियो ।
गत शुक्रबारको बैठकमा सभामुखले लामिछानेलाई बोल्ने समय दिँदा प्रतिनिधिसभामा धकेलाधकेल नै भएको थियो ।