बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सदनमा अराजक बन्दै कांग्रेस : एमाले अध्यक्ष ओलीमाथि गुरुङको अभद्र व्यवहार

शुक्रबार, जेष्ठ ४ २०८१

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीच सदनमा भनाभन हुँदा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीमाथि अभद्र व्यवहार भएको छ ।

विहीबार प्रतिनिधिसभा बैठकमा नाराबाजीका क्रममा सत्तापक्षको बेन्चमै आएर पूर्वमन्त्रीसमेत नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उनीमाथि औँला ठड्याउँदै मर्यादाविपरीत आचरण देखाएका छन् ।

गृहमन्त्री रवि लामिछानेलाई संसदमा सम्बोधन गर्न रोष्टम जान रोक्ने क्रममा गुरुङ उपसभामुख बस्ने सिटमै अढेस लागेर उभिएपछि पछाडि बसेकी सञ्चारमन्त्री रेखा शर्माले ‘यो उपसभामुखको ठाउँ हो, किन पस्नुभएको हो’ भनेकी थिइन् । तर, गुरुङले बेवास्ता गरे । त्यसपछि छेउकै सत्तापक्षको पहिलो सिटमा बसेका एमाले अध्यक्ष केपी ओलीले उठेर गुरुङसँग भने, ‘यहाँ किन पस्नुभएको, तपाईं यता पस्नुभएन नी । यो पस्ने ठाउँ होइन । यतातिर होइन उतातिर (सभामुख आसनको अगाडि) गर्नू ।’

त्यसपछि गुरुङ थप आक्रामक बने । ओलीलाई औँला ठड्याउँदै प्रतिवाद गरे । वेलमा रहेका कांग्रेसका महिला सांसद पनि दौडिँदै त्यहीँ आएर नाराबाजी गरे । एमाले सांसद महेश बर्तौला, ठाकुर गैरेलगायतले ओलीको प्रतिरक्षा गरे । दुवै पक्षबीच केहीबेर धकेलाधकेल भयो ।

‘हाम्रो अध्यक्षले नम्रतापूर्वक तपाईंहरू वेलतिरै गएर विरोध गर्नुस्, यो विरोध गर्ने ठाउँ होइन भन्नुभयो । तर, उल्टै अध्यक्षमाथि अपशब्द प्रयोग गर्ने, दुर्व्यवहार गर्ने, झम्टने प्रयास भयो । त्यो संसदीय मर्यादा र लोकतान्त्रिक चरित्रविपरीतको अशोभनीय गतिविधि हो,’ सांसद गैरेले भने । गुरुङले भने आफूले मर्यादाविपरीत गतिविधि नगरेको, बरु एमालेसहितका सत्तापक्षका सांसदहरूले घटनालाई अतिरञ्जित गरेको दाबी गरे ।

सरकारकी प्रवक्ता रेखा शर्माले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सत्तापक्षको रोमा प्रवेश गरेपछि सांसदहरुबीच धकेलाधकेल भएको बताएकी छन् । सदनमा धकेलाकेलको स्थितिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस गैरजिम्मेवार बनेको आरोप लगाइन् ।

‘आरोप लागेपछि बोल्न पाउनुपर्छ भन्ने हामी सबैको कुरा हो । बोलेर आफ्ना कुरा राख्न पाउनुपर्छ त्यहाँबाट समाधान निस्किन सक्छ भन्ने प्रतिपक्षसँग पनि त्यो कुरा भएको थियो तर, पछि उहाँहरुबीचमा के कुरा मिल्न सकेन । गृहमन्त्रीलाई बोल्न दिएपछि प्रतिपक्ष सत्तापक्षको रोभित्र छिर्यो त्यसपछि थोरै नराम्रै शैली देखियो। सरकारको रोभित्र छिरिसकेपछि त्यो स्थिति भएको हो, त्यो राम्रो भएन, जिम्मेवार प्रतिपक्ष जिम्मेवार भएको देखिएन। उहाँहरु सत्तापक्षको रोमा पस्न मिल्छ ?’ उनले भनिन् ।