'देउवा, आरजु र जयवीरमाथि छानविन गर्न तयार हो ?'
काठमाडौं । शालीन र भद्र व्यक्तित्वका रुपमा चिनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झा आक्रोशित बनेका छन् ।
प्रतिनिधि सभाको विहीबारको बैठकमा सांसदहरुबीच भएको धकेलाधकेर र नेपाली कांग्रेसले रास्वपा सभापति एवं ग्रहमन्त्री रवि लामिछानेले संसदमा सम्वोधन गर्न नदिएपछि धर्यताको उनको बाँध फुटेको हो ।
बैठक अवरुद्ध भएपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग रास्वपा सांसद झाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको परिवारमाथि छानविन नभएसम्म सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति नबन्ने बताए ।
उनले अब पहिला कांग्रेसका नेताहरु पार्टी सभापति देउवा, उनकी श्रीमती आरजु राणा देउवा र उनका छोरा जयवीरमाथि छानविनका लागि तयार हुनुपर्ने बताए ।
नेता झाले आफ्ना सभापति लामिछानेमाथि लगाइएको सहकारी ठगी प्रकरण पुष्टि भएमा रास्वपाका सांसद रआफूहरु सबै राजनीति छाड्न तयार रहेको र कांग्रेसका नेताले त्याे भन्न र तयार हुन सक्छन् भनेर प्रश्न समेत गरे ।
लामिछानेमाथि छानविन गर्न अब पहिलो शर्त देउवा परिवारको सम्पत्ति छानविन हुनुपर्ने उनको माग छ ।
‘अब समिति बन्दैन । अब समिति त्यो शर्तमा मात्रै बन्छ, म छातीमा हात राखेर भन्नसक्छु मेरो सभापतिको सबै छानविन गर । म तयार छु, हामी सबै राजनीति छोड्न तयार छौं । उहाँको केही घोट निस्कियो भने उहाँ एक्लैले राजनीति छोड्छु भनेर जानुभएको छ, हामी सबै राजनीति छोड्छौं । के नेपाली कांग्रेसका सबै सांसदले यो हिम्मत राख्न सक्छ ? कि मेरो सभापतिको सबै छानविन गर । उसको छोरोको पनि छानविन गर, श्रीमतीको पनि गर । त्यो हिम्मत राख्नसक्छ ? सक्छ भने हामी च्यालेन्ज गर्छौं,’– उनले भने, ‘अब समिति बन्दैन । समिति त्यो बेलामा मात्रै बन्छ, नेपाली कांग्रेसका पदाधिकारीका सबै फाइल खोल्न तयार हुन्छ । जसले हाम्रो सभापतिको फाइल खोज्न माग गर्दैछ, तपाईको सभापतिको पनि फाइल खोल्नुस् ।’
साथै, कांग्रेसका सांसदहरुले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गरेको भन्दै उनले आपत्ति जनाए । कांग्रेसले संसद्मा अभद्रता प्रदर्शन गरेको उनको टिप्पणी छ । ‘हात हालाहाल गर्ने रु त्यो पनि आफ्नो बुबाको उमेरको मान्छेलाई रु त्यो त मिल्दैन नि । संविधान बनाउँदै गर्दाका सहयात्री पनि त हुन्, २०६२–०६३ को सहयात्री पनि त हुन् । नेपालको सबैभन्दा ठूला राजनीतिक दलको अभद्रता कल्पना पनि गर्न सकिँदैन,’ उनले भने ।
आफूहरुले ‘समिति मान्छौं तर हामीलाई जहाँ आरोप लगाउनु भएको छ त्यही जवाफ दिन दिनुस् । एक दुई वटा सहकारीमात्रै किन सबै सबै सहकारीको अनुसन्धान हुने गरी समिति बनाऔं’ भन्दा कांग्रेस सहमत नभएको उनको भनाइ छ ।
भएको के थियो ?
कांग्रेसको नाराबाजी चल्दै गर्दा सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए । त्यसपछि मन्त्रीहरूको रोहमा बायाँतिर पहिलो सिटमा बसेकी उपसभामुख इन्दिरा राना आफ्नो सिटबाट उठेर लामिछानेलाई निस्किन सहज बनाइन् ।
अर्कोतिर वेल घेराउ गरिरहेका कांग्रेस सांसद झन् आक्रामक हुँदै सत्तापक्ष बस्ने बेन्चतिर घुस्न थाले । उपसभापति धनराज गुरुङ उपसभामुख बस्ने सिटभित्रै प्रवेश गरेर उभिएर नाराबाजी गर्न थाले, उनले गृहमन्त्री लामिछानेको बाटो छेके । पछाडि बसेकी सञ्चारमन्त्री रेखा शर्माले ‘यो उपसभामुखको ठाउँ हो, किन पस्नुभएको हो’ भनिन् ।
नाराबाजी गर्ने क्रममा गुरुङ उपसभामुख बस्ने सिटमै अढेस लाएर उभिएपछि पछाडि बसेकी सञ्चारमन्त्री रेखा शर्माले ‘यो उपसभामुखको ठाउँ हो, किन पस्नुभएको हो’ भनेकी थिइन् । तर, गुरुङले वास्तै गरेनन् । त्यसपछि छेउकै सत्तापक्षको पहिलो सिटमा बसेका एमाले अध्यक्ष केपी ओलीले उठेर गुरुङसँग भने, ‘यहाँ किन पस्नुभएको, तपाईं यता पस्नुभएन । यो पस्ने ठाउँ होइन । यतातिर होइन उतातिर (सभामुख आसनको अगाडि) गर्नू ।’
छेउकै रोहमा पहिलो सिटमा बसेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि उभिए । धनराजको काँधमा हातले कोट्याउँदै उनले भने, ‘किन यहाँ पस्नुभएको, तपाईं यता पस्नुभएन । यो पस्ने ठाउँ होइन । यतातिर होइन उतातिर गर्नु ।’ धनराजले औँला ठड्याउँदै प्रतिवाद गरे । उनको प्रतिवाद अलि अशिष्ट थियो । उनले ओलीतिर झम्टिदै औंला ठड्याउँदै नाराबाजी गरे । उनको अनुहारको प्रस्तुति पनि निक्कै आक्रोशित थियो ।
वाद–प्रतिवाद हुँदै गर्दा वेलमा रहेका कांग्रेसका महिला सांसद दौडिएर आए । यतातिर ओलीसँगै उठेका एमाले सांसद पनि अगाडि आएर छेक्न थाले । महेश बर्तौला, ठाकुर गैरेलगायतले ओलीलाई प्रतिरक्षा गरेका थिए भने महिला सांसद ‘केही भन्दै’ आइरहेका थिए । दुवै पक्षबीच केहीबेर धकेलाधकेल भयो । त्यसपछि सभामुखले बैठक गृहमन्त्रीलाई बस्न भने र बैठकका बाँकी कारबाही शुक्रबारसम्मका लागि स्थगित गरे ।