काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पनन भएको करिब २ वर्षपछि उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश दिएको छ ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले दायर गरेको रिटको सुनुवाइ गर्दै मंगलबार अदालतले पुनः मतगणना गर्नुपर्ने फैसला सुनाएको हो ।
न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेलको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो ।
उक्त निर्वाचनमा जोशी नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेसँग पराजित भएका थिए । त्यसपछि उनले अदालतमा रिट दायर गरेका थिए ।
मेयरमा विजयी कांग्रेसका वैकुण्ठ न्यौपानेले जोशीलाई २५२ मत अन्तरले हराएका थिए । न्यौपानेले १२ हजार ७८ मत पाएर जित्दा जोशी ११ हजार ८२६ मत पाएका थिए ।
अदालतले निवेदकको दाबी पुग्ने भन्दै पक्षमा अन्तिम फैसला गरेको छ ।
कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले एमालेको सहयोगमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । कैँची चुनाव चिह्न लिएर चुनाव लडेको जोशी समूह र एमालेबीच तालमेल भए पनि सफल हुन सकेको थिएन ।