काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा जुनसुकै बेलामा जेसुकै हुनुपर्ने अवस्था रहेको बताएका छन् ।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले संघमा मात्रै नभएर सुदूरपश्चिम, मधेश र बागमती प्रदेशमा के होला ? भन्ने भइरहेको बताए ।
सत्ता गठबन्धनमा चिसोपना बढेको बेला उनको यो अभिव्यक्तिको खास महत्व रहेको देखिन्छ । सत्ता गठबन्धन भित्रैकै दल उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले काँग्रेससँग साँठगाँठ बढाएको आरोपमा उपेन्द्र यादवको जसपा फुटेर अशोक राई नेतृत्वको जसपा बनेको छ । प्रचण्ड सरकार ढलाउन प्रयास गरेको आरोपमा सत्ता गठबन्धनमा खटपट हुँदा उपेन्द्रको जसपा सरकारबाट बाहिरिएको छ । यस्तै त्यो आरोप नेकपा एसका अध्यक्ष माधव नेपाललाई पनि छ ।
एकीकृत समाजवादीले यसअघि पनि जसपासँग मिलेर गठबन्धन टुटाएर बैकल्पिक गठबन्धन बनाउन धेरै प्रयास गरेको थियो ।
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एमाले माधव नेपालको पछिल्ला गतिविधि र अभिव्यक्तिका कारण उनीसँग रुष्ट छन् ।
सत्तामा किचलो गरिरहेका नेकपा एसको पनि सत्ता यात्रा लामो देखिँदैन । नेकपा एसले सुदुरपश्चिममा मुख्यमन्त्री हात पारेको छ । तर नेकपा एसबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीलाई एमालेले विश्वासको मत दिने मनशाय बनाएको छैन ।
यदी एमालेले सोडारीलाई विश्वासको मत नदिए नेकपा एसले काँग्रेसको साथ लिने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने देखिन्छ ।
काँग्रेससँग साँठगाँठ गरेको कारण नेकपा एमाले र नेकपा एसबीच पनि यतिबेला टकराब चलिरहेको छ । प्रधानमन्त्री बन्न विभिन्न उपाय रचिरहेका माधवले एमाले अध्यक्ष केपी ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन् ।
जसपा नेपालको विभाजनसँगै एकीकृत समाजवादी पनि विभाजन हुने हल्ला चलेको थियो । त्यो संभावना टरेको दावी गरिँदै आएको छ । यद्यपि माधव नेपालको प्रधानमन्त्री बन्ने जिद्धी र अर्का नेता झलनाथ खनालको एमाले प्रतिकै झुकावले एकीकृत समाजवादीमा विमत्ति छाएको देख्न सकिन्छ ।
माधव नेपाल सत्ता समीकरणमा आफूहरूलाई बेवास्ता गरेको भन्दै सरकारमा बस्ने–नबस्ने भन्ने जुनसुकै बेलामा निर्णय हुनसक्ने बताउँदै आएका छन् । सरकारका कुनैपनि निर्णय आफूलाई पत्रिका हेरेर मात्र थाहा हुने भन्दै गुनासो गरेका छन् । ‘हाम्रो पार्टीलाई बेवास्ता गर्ने गरिएको छ, संसद चल्नेरनचल्ने विषयमा हुने वार्ता हामीले पत्रपत्रिकाबाट थाहा पाउनुपर्ने अवस्था छ, हामीलाई जानकारी पनि गराइँदैन ।’ उनले पार्टी केन्द्रीय कमिटीको बैठको सम्बोधनमा यस्तो बताएक हुन् ।
उनले सरकारको नीति तथा कार्यक्रम निर्माणमा समेत आफूहरूलाई कुनै जानकारी नगराइएको गुनासो गर्दै आएका छन् ।