काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकस्थित सडकमा ना. ३७ प ४९०९ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले गएराति ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–८ बस्ने ३३ वर्षीय प्रविण कुँवरको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरीको कन्चनरूप नगरपालिका–१ बैरवास्थित सडकमा प्र.१–०४–००१ च ०५०२ नम्बरको पिकप भ्यानको ठक्करबाट साइकलयात्री हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने ५५ वर्षीय पञ्चेश्वर मण्डलको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगर उपचारको क्रममा मृत्यु भएको हो ।
भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।