बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीचको छलफल सकारात्मक

संसद खुलाउनेबारे संसदीय दलको बैठकपछि टुंगो गर्ने

मंगलबार, जेष्ठ १ २०८१

काठमाडौं । संसद अवरुद्ध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।

उनीहरुबीचको छलफलमा आज संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुसँग आग्रह गरेका थिए।

प्रधानमन्त्रीले गरेको उक्त आग्रहलाई कांग्रेसले सकारात्मक रुपमा लिएको छ । आज बिहान बालुवाटारमा कांग्रेस नेता रमेश लेखक र गगन थापासँग भएको छलफलमा प्रधानमन्त्रीले सो आग्रह गरेका हुन् ।

बैठक पछि कांग्रेस मुख्य सचेतक लेखकले प्रधानमन्त्रीले समस्या समाधानका लागि प्रयासरत रहेको बताएको जानकारी दिए । लेखकले समस्या समाधानका लागि कोसिस गरिरहेकाले राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रममा अवरोध नगरिदिन प्रधानमन्त्रीले आग्रह गरेको बताए ।

प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानको लागि पहल गरिरहेको आश्वासन दिएपछि कांग्रेस केही लचिलो देखिएको छ । लेखकले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकपछि निस्कर्षमा पुग्ने बताए ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार छानबिन समिति गठन गर्न तयार नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गरेको थियो ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त आज दिउँसो ३ बजे बस्दैछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

उक्त बैठक चल्न दिने वा नदिने भन्ने विषयमा कांग्रेसले संसदीय समितिमा छलफल गर्ने छ ।