काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज पेसी परेको छ । गत बैशाख २३ गतेको पेसीमा लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचिमा परेको थियो।
साे पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो।
त्यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए। सामान्यतया यसअघि आदेश दिइसकेको न्यायाधीशले स्वार्थ बाझिने भन्दै मुद्दाको सुनुवाइ नगर्ने अभ्यासका कारण हेर्न नमिल्ने सूचिमा राखिएको थियो ।
गौशाला २६ द्वारा दायर बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई ८ वर्षको जेल सजाय सुनाएको छ।
उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्।
अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएर मुद्दाले अग्राधिकार पाएको भएपनि विभिन्न कारण उनकाे मुद्दा धकेलिँदै आएकाे छ ।
सुनुवाइका क्रममा अब देवानी तथा फौजदारी कानुनका विज्ञ वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पनि सन्दीपका पक्षमा बहस गर्ने भएका छन् ।
सन्दीपको कानुनी टिमको संयोजन गरिरहेका अधिवक्ता सरोजकृष्ण घिमिरेले पहिलेको टिममा बिडारीसहित तीनजना वरिष्ठ अधिवक्ता थपिएको जानकारी दिए ।
अधिवक्ता घिमिरेका अनुसार वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, वरिष्ठ अधिवक्ता सविता भण्डारी, अधिवक्ताहरू मुरारी सापकोटा, रोशनी पौड्याल, रामकुमार माझी र रामेश्वर न्यौपानेका साथै संयोजनकर्ता सरोजकृष्ण घिमिरे आफैं छन् ।
उनको मुद्दाको सुनवाई तत्काल हुनुपर्नेमा जनदबाव बढ्दो छ । कसुरदार भए सोही अनुसारको सजाय, नभए उनले आगामी टी-२० वल्डकप खेल्न पाउनुपर्ने भन्दै सडक आन्दोलन समेत हुन थालेका छन् । सन्दीप आफैंले भने सो प्रकरणमा आफू निर्दोष भएको र आफूलाई फसाइएको जिकिर गर्दै आएका छन् ।
‘…..म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहने छु। फेरि पनि मेरो यो खुला चुनौती हो, ती तथाकथित अभियन्ताहरूलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस्- मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस् मेरो लागि ८ वर्षले पुग्दैन, फाँसी नै सही हुनेछ’, उनले लेखेका छन्, ‘म त फसेँ, बोलेकै भरमा, अब अरू कोही नफसोस्, बिन्ती छ।’ केही दिन अघि उनले सामाजिक सञ्जालमा लेखेका थिए ।