काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जंगलस्थित सडकमा भस्नेपाटीबाट खड्केगैरातर्फ जाँदै गरेको भे.१ त ८९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुल्लु नगरपालिका–६ खच्चे गैरा बस्ने ५५ वर्षीय मान बहादुर रावलको घटनास्थलमै र गम्भीर घाइते भएका ट्याक्टर चालक सोही ठाउँ बस्ने २५ वर्षीय कमल शाही र ट्याक्टरमा सवार ५६ वर्षीय कमारो रावलको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सिन्धुपाल्चोकको चौतारा सागाचोक गढी नगरपालिका–८ जलकिनेस्थित सडकमा वनदेउफबाट चौतारातर्फ जाँदै गरेको प्रदेश ३–०२–००६ प ९५३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–७ बस्ने २३ वर्षीया ईन्दिरा अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल र बागमती प्रदेश ०१–००६ ख २७१६ नम्बरको टिपर एक आपसमा क्रस हुने क्रममा सागुरो बाटो र मोड भएको कारण मोटरसाइकल र टिपरले अचानक ब्रेक लगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हुम्लाको सिमकोट गाउँपालिका–४ स्याम्ने हुल्दङ खोला भन्ने ठाउँमा सिमकोट बजारतर्फ जाँदै गरेको लु.४ त १४४९ नम्बरको ट्याक्टरबाट खसेर सिमकोट गाउँपालिका–२ बस्ने ५५ वर्षीया नानी बोहराको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल हुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको केराबारी गाउँपालिका–५ मदन भण्डारी राजमार्ग बगैचा चोकमा बा.११ च २९२८ नम्बरको पिकअप भ्यानले प्र.१–०२–००२ ह ९२४४ नम्बरको अटोलाई आइतबार दिउँसो ठक्कर दिँदा अटो चालक केरावारी गाउँपालिका–६ बस्ने ४५ वर्षीय मेख बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठाान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।