बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

आरजु राणा जोडिएको टीकापुर जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फको अनुसन्धान सुरू

सोमबार, बैशाख ३१ २०८१

काठमाडौं । कैलालीको टीकापुरस्थित ३० बिगाहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ ।

टीकापुर विकास समिति र पहुँचवालाको मिलेमतोमा उक्त क्षेत्रमा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।

यसैबीच अख्तियारको पत्राचारपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान (ब्यूरो)ले कीर्तेतर्फ पनि अनुसन्धान थालेको हो ।

ब्यूरो प्रमुख श्यामलाल ज्ञवालीका अनुसार अख्तियारको पत्राचारपछि कीर्तेतर्फ पनि अनुसन्धान थालिएको र ब्यूरोबाट अनुसन्धान टोली तत्काल नै कैलाली पठाइँदैछ ।

यसअघि अख्तियारले दायर गरेको मुद्दामा ‘टीकापुर नगरपालिका–१ स्थित टीकापुर बजार क्षेत्रको करिब ६ सय रोपनी जग्गा नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष, पदाधिकारी एवं कर्मचारीको संलग्नतामा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचबिखन गरेको’ उल्लेख छ।

समितिको स्वामित्वमा रहेको जग्गा व्यक्ति विशेष तथा संघसंस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्थाबमोजिम उपलब्ध गराउनु पर्नेमा त्यसविपरीत नक्कली कागजात खडा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।

राजनीतिक पहुँच र मिलेमतोमा जग्गा हिनामिना भएको आरोप लाग्दै आएको छ।

सो जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेतृ डा आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीसम्म संलग्न रहेको दाबी गरिएको थियो।

आरजुलाई तीन कट्ठा ७ धुर, रेशमलाई ५ कट्ठा

लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका बेला मन्त्री सरहको सेवासुविधा पाउने गरी २०५३ सालमा नैनबहादुर स्वाँर टीकापुर विकास समितिको अध्यक्ष भएका थिए । उनले २०५५ सालसम्म समितिको अध्यक्षको जिम्मेवारीमा थिए ।

साेही बेला कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवालाई समेत जग्गा उपलब्ध गराइएको थियाे। २०५४, १३ वैशाखमा उनले  निवेदन दिएकाे देखिन्छ । साेही आधारमा त्यसको दुई दिनपछि १५ वैशाख २०५४ मा डा.आरजु राणा देउवाले टीकापुर नगर विकास समितिबाट ३ कट्ठा ७ धुर घडेरी लिएकी थिइन् । आरजु देउवाले घडेरी कुन मापदण्डमा परेर पाएकी हुन् भन्ने समितिको निर्णय पुस्तिकामा भेटिंदैन । आरजुको घडेरी हाल टीकापुर नगरपालिका वडा नं. १ मा पर्ने बसपार्क नजिकै मूल सडकमा पर्छ ।