काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्न छलफल थालेका छन् ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।
उत्त अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलका लागि बोलाएका छन् ।
जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि प्रधानमन्त्रीले आज ९ बजे छलफलमा बोलाएका हुन् ।
यही जेठ १ गते संसद्मा राष्ट्रपतिको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनका बैठकमा प्रस्तुत हुनै नपाएकाले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन नै परिवर्तन हुने देखिएको छ ।
शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा पनि गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने अडान राखेर नाराबाजी गरेको थियो ।
समस्याग्रस्त सहकारीहरूको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को वर्षे अधिवेशनको पहिलो दिनमै दुवै सदनका कार्यसूची प्रभावित भएका थिए ।