बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

एकीकृत समाजवादीको झुकाव कांग्रेस तिरै

आइतबार, बैशाख ३० २०८१

काठमाडौं । सत्तामा रहे पनि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को झुकाव भने नेपाली कांग्रेस तिरै देखिएको छ ।

वर्तमान सत्ता ढलाउन कांग्रेससँग वार्ता र संवाद गरिरहेको आरोप लागेका नेपालको पार्टीको स्थायी कमिटी बैठकले फेरि त्यही कुरामा बल पुग्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले कांग्रेसले सदनमा उठाएको मागप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय आलोकनगरमा स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कांग्रेसले सदनमा उठाएको माग जायज रहेको बताउँदै सरकार गम्भीर बन्नुपर्ने आवश्यकत्ता औंल्याएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकाे सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरिरहेको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिलाई कांग्रेसले सदन सुचारु गर्न बटम लाइन बनाएको छ । तर सरकार भने समिति बनाउन नसक्ने बताउँदै आएको छ । यसैबीच सरकारकै एक घटक एकीकृत समाजवादी भने कांग्रेसको मागप्रति सकारात्मक देखिएको छ ।