काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद्मा खेलेको भूमिकालाई लिएर आलोचना गरेका छन् ।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग राखेर गरेको सदन अवरोधलाई लक्षित गर्दै आजको संसद् बैठकमा कांग्रेसको भूमिका हेर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेका पछाडि प्रहरी नभएर कांग्रेस लागेको समेत बताए । कांग्रेस प्रमुख सचेतकले मुद्दाको फाइल बोकेर हिँडेको भन्दै उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालय भन्दैछ, केही छैन । उहाहँरु विभिन्न पृष्ठमा नाम उल्लेख भएको ल्याउनुभएको छ ।’
उनले भने,‘नेपाली कांग्रेसले अत्यन्त रन्थनियो, के गर्ने के नगर्ने, प्रधानमन्त्री बनिदेउ भनेर यहाँ पनि पुगेको छ,उता पनि पुगेको छ।’
उनले कांग्रेसले भनेअनुसारै संसदीय समिति बनाए तत्काल गृहमन्त्रीको राजीनामा माग्ने दावी गरे। प्रश्न उठाउने तर जवाफ दिन नदिने अराजनीतिक व्यवहार भएको उनको भनाइ छ।