बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बालमन्दिर जग्गामा वर्षौंदेखि एउटै व्यापारिक समूहको रजाइँ, २० जनाविरुद्ध पक्राउ पुर्जी

शुक्रबार, बैशाख २८ २०८१

काठमाडौं । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिन स्थापित नक्सालस्थित नेपाल बाल संगठनको जग्गा अनियमिताविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

संगठनका पूर्व-पदाधिकारीसहित जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौंबाट बिहीबार पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ ।

सिआइबीका अनुसार पक्राउ पुर्जी जारी हुनेमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रिता सिंह वैद्यसहित २० जना छन् । सिंहसहित पूर्व-पदाधिकारीहरू तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेललगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

२०४८ को आम निर्वाचनपछि बनेको सरकारले रिता सिंह वैद्यलाई संगठनको अध्यक्ष नियुक्ति गरेको थियो । वैद्य नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् । उनी करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी थिइन् । बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको आन्तरिक अनुसन्धानमा देखिएको थियो ।

पछिल्लोपटक २०७२ सालमा सव-लिज सम्झौता गरी वैद्यले नै बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म)का लागि बाल मन्दिरको जग्गा सुम्पिएकी थिइन् ।

नेपाल बाल संगगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले बिसं २०४९ सालदेखि बिसं २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ ।

यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि अनुसन्धान अघि बढाएको थियो । सीआईबीको अनुसन्धानमा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रूपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल सङगठनले केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) जाहेरी दिएको बताइएको छ ।

बिहीबार अदालतले जारी गरेको पक्राउ पुर्जीअनुसार सीआईबीले बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, विभिन्न कालखण्डमा संगठनका महासचिव रहेका श्यामकुमार आले, प्रचण्डराज प्रधान, गणेशभक्त श्रेष्ठ, रामकाजी कोने र सुवासकुमार पोखरेललाई पक्राउ गर्न अनुमति पाएको छ।

यसरी नै बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य, कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्य कृष्णशंकर साहविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

अदालतले बृहस्पतिका सञ्चालक प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरूषोत्तमराज जोशी, श्रद्धा संघई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई समेत पक्राउ गर्न दिएको छ ।