शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सभामुख र प्रमुख सचेतक बिचको छलफल निष्कर्षबिहिन, काग्रेसको अडान कायमै

बिहिबार, बैशाख २७ २०८१

काठमाडौं । सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल बिना निस्कर्ष सकिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको बैठकमा शुक्रवारबाट शुरु हुने वर्षे अधिवेशन व्यवस्थित बनाएर लैजाने बारेमा छलफल भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोप लगेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम नै राखेको छ । जसकारण पनि आजको बैठक संसद सुचारु गर्ने सहमति बिनै टुंगिएको हो। बैठक पुनः शुक्रवार बस्नेछ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बैठकमा शुक्रवारको प्रतिनिधि सभाको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूचि तय भएको र शीर्ष नेताहरुको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहजता पूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताएका छन्।

बैठकपछि बोल्दै नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डेले शुक्रवारको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्ने बताए । बजेट अधिवेशन भएकाले शुरु हुने र राम्रोसँग व्यवस्थित हुनेमा आशावादी रहेको प्रतिक्रिया दिए।

बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेस र नेकपा एमालेको संसदीय दलको बैठक शुक्रवार नै बस्ने भएकाले थप निर्णय नभएपनि संसद सामान्य हिसावमा नै अघि बढ्ने बताए । शुक्रवारको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्नुहुने पनि जानकारी दिए। संसदप्रति सबै राजनीतिक दल गम्भीर बन्नुपर्ने बताएका छन्।

बैठकपछि बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलका प्रमुख सचेतक र सचेतकहरुसँग शुक्रवारको संसद बैठक सञ्चालनसम्बन्धी छलफल भएको बताए। बैठक सञ्चालनमा अझै कुरा नमिलेको र काँग्रेसको संसदीय दलको बैठकपछि थप निर्णय हुने बताएका छन ।

बैठकमा भन्सारको महशुल सम्बन्धी विधेयक अघि बढाउनेबारेमा पनि छलफल भएको प्रतिक्रिया दिए।