काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले नेपालको नक्सा नोटमा प्रकाशित गर्नेसम्बन्धी विषयबारे आफूले बोलेको भनेर केही सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर राष्ट्रपति संस्थालाई नै आक्षेप लगाउने गरी केही अनलाईन सञ्चारमाध्यममा आएको टिप्पणीप्रति आफू स्तब्ध र दुःखी भएको बताएका छन् ।
विज्ञ नेपालसँग राष्ट्रपति पौडेलले यस विषयमा जिज्ञासा राखेपछि उनले एक विज्ञप्तिमा जारी गर्दै यस्तो बताएका हुन् । ‘यस विषयमा सम्माननीय राष्ट्रपतिज्यूले चासो र जिज्ञासा राख्नुभएकोमा केही अनलाइनमा आएका विषयमा मैले पूर्व गर्भनर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रकाशन भएकोमा दुःखी भएको अवगत गराएको छु’, उनले भनेका छन् ।
उनले आफूले योभन्दा भिन्न हुनेगरी कुनै कुरा नबोलेको पनि स्पष्ट पारेका छन् । “तथापि मैले बोलेको विषयलाई लिएर राष्ट्रपति जस्तो मर्यादित संस्थालाई अनावश्यक विवाद गरिएको हुँदा मेरो भनाइ भनेर आएका सञ्चारमाध्यमका सम्बन्धित विषयका नैतिक जिम्मेवारी व्यक्तिगतरुपमा म आफैँ लिन्छु र यो विषयलाई लिएर सम्मानित राष्ट्रपति संस्थालाई अनावश्यक विवादमा नतान्न म विनम्रतापूर्वक आग्रह गर्दछु”, उनले भनेका छन् ।
