विराटनगर । कोशी प्रदेशमा दुई दिनको समय दिएर नयाँ सरकार गठनको लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले बुधबार साँझ अबेर दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको उक्त आह्वानअनुसार अब प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यले यही बैशाख २८ गते अपरान्ह ५ बजेभित्र मुखयमन्त्रीमा दाबी पेश गर्नुपर्नेछ ।
कोशीमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । मुख्यमन्त्रीको जिम्मेवारी भने केदार कार्कीले सम्हालेका छन् ।
मुख्यमन्त्री कार्कीले अल्पमतमा परेको यतिका दिन बितिसक्दापनि राजीनामा पनि नदिएको र विश्वासको मत पनि नलिएको भन्दै आलोचना हुँदै आएको थियो ।
८ जना सांसद लिएर २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसदले काँध थापेका थिए । कार्की सरकार पनि धारा १६८ (५) अन्तर्गन नै गठन भएको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान संविधानको धारा १६८ (५) अन्तर्गत नै सरकार गठनका लागि आह्वान गरेका छन् ।
यता कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले अर्को सरकार गठनको आह्वान गरेर असंवैधानिक कदम चालेको आरोप लगाएका छन् ।
प्रदेश प्रमुखको कदम विरुद्ध मुख्यमन्त्री कार्की सर्वोच्च अदालत जाने तयारीमा छन् ।