काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् ।
शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पालसहित ओलीलाई भेट्न पूर्वमुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसँगको भेटमा ओलीले हतार नगर्न निर्देशन दिएका हुन् ।
पछिल्लो समय सत्ता गठबन्धन दलहरू नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तिक्तता बढीरहेको पृष्ठभूमिमा सुदूरपश्चिमको राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले सुदूपश्चिमका नेताहरू काठमाडौं आएका थिए।
अध्यक्ष ओलीको निवास बालकोटमा दुई घन्टाभन्दा बढी भएको छलफलमा विश्वासको मत लिन अझै समय भएको बताएका नेता रावलले जानकारी दिए।
बझाङबाट निर्वाचन एमाले सांसद दमन भण्डारीको बुवाको निधन भएको १५ दिन पनि नभएको भन्दै त्यो भन्दा पहिले विश्वासको मतको विषयमा हतार गर्न आवश्यक नरहेको ओलीले बताएका थिए ।
अध्यक्ष ओलीसँग भेट हुनु भन्दा पहिले महसचिव शंकर पोख्रेलसँग पनि सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल र प्रमुख सचेतक पालले छलफल गरेका थिए ।
६ वैशाख एमालेसहित गठबन्धनमा आवद्व दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले २१ वैशाखमै विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमालेले विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक अनिश्चितकाललाई स्थगित गरिएको छ ।