काठमाडौं । जेठ १० गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘फर्की फर्की’ को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक भएको छ ।
नरेन लिम्बूले सात वर्षअघि कम्पोज गरेको चर्चित पपगीत ‘अन्तिम माया’ लाई रि(एरेञ्ज गर्दै निर्माण टिमले शुक्रबार सार्वजनिक गरेको हो । गीतको शब्द, संगीत र कम्पोज नरेनकै छ ।
गीतको भिडियोमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन् । नरेन र अनमोलबीच यो दोस्रो सांगीतिक सहकार्य हो । नौ वर्षअघि सार्वजनिक भएको अनमोल स्टारर चलचित्र ‘जेरी’मा पनि नरेनकै हिट गीत ‘भन्न आउँदैन’लाई पुनः एरेञ्ज गर्दै समावेश गरिएको थियो ।
चलचित्र ‘फर्की फर्की’ लाई सुयोग गुरूङले लेखन एवं निर्देशन गर्नुभएको हो । रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको यस चलचित्रको निर्माता रोहित अधिकारी र ओमप्रकाश अग्रवाल छन् ।
चलचित्रमा अनमोल र जसिताका साथमा रवि काफ्ले र समृद्धि अर्याल पनि शीर्ष भूमिकामा छन् ।