बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

माधव नेपालको असन्तुष्टिकै कारण सुदूरपश्चिमका मुख्यमन्त्रीलाई समस्या

शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं । नयाँ गठबन्धन बनेको दुई महिना पूरा नहुँदै सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच असन्तुष्टि छताछुल्ल बनेका छन् । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका पछिल्ला अभिव्यक्तिले त्यसलाई पुष्टि गर्छ ।

संसदमा १० सीट रहेको एकीकृत समाजवादीबाट केन्द्रमा संघीय सरकारमा दुई मन्त्री छन् । मधेश सरकारमा दुई, बागमतीमा तीन र लुम्बिनी एक मन्त्री छन् भने जम्मा चार सांसद भएको सुदूरपश्चिम सरकारको नेतृत्व उसैले पाएको छ । तर पनि यसका अध्यक्ष नेपालले असन्तुष्टि पोखिरहेका छन् । उनको असन्तुष्टिको कारण आफू प्रधानमन्त्री हुनुपर्ने ग्यारेन्टी खोजिरहेको हुनसक्ने अनुमान समेत हुन थालेका छन् । पछिल्लो समय उनले देखाएको असन्तुष्टि र सत्ता गठबन्धनमा अविश्वनीय बोलीका कारण प्रदेश सरकारमा त्यसको असर परेको छ ।

नेपालले  गठबन्धनबाट आफू बाहिरिने खालका अभिव्यक्ति दिएका छन् । उनले सत्ता गठबन्धनमा कुनै एक दलले साथ छोड्नेबित्तिकै यो सरकार ढल्ने चेतावनी दिनुको पछि आफ्नै दल गठबन्धनबाट बाहिरिन लागेको संकेत समेत गरेका छन् ।

माधव नेपालका पछिल्ला अभिव्यक्तिलाई लिएर सत्ता गठबन्धनका मुख्य घटकका शीर्ष नेताहरुबीच पनि छलफल भएको स्रोतले बतायो ।

नेपालको पछिल्लो गतिविधि शंकास्पद देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको हाे ।

एकीकृत समाजवादीका तर्फबाट सुदूरपश्चिमको मुख्यमन्त्री बनेका दीर्घराज सोडारीले गठबन्धन भित्रको आन्तरिक विवादकै कारण प्रदेश सभामा विश्वासको मत लिने विषय अनिश्चित बनेको छ ।

मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने तय भएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन बहुमत अर्थात् २७ सांसद आवश्यक पर्छ ।

एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ । तर, एमाले विश्वासको मत दिने विषयमा ठोस निर्णय गरेको छैन । यसको कारण अध्यक्ष माधव नेपालको पछिल्ला अभिव्यक्ति र कांग्रेससँग बढ्दै गएको उनको व्यवहार भन्ने अनुमान गरिएको छ । यसैपनि सुरुवातमै सोडारीलाई मुख्यमन्त्री नस्वीकार्ने एमालेले बताएको थियो । अन्ततः अन्तिम समयमा उसले सोडारीलाई समर्थन गरेको थियो ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई विश्वासको मत लिन जेठ ५ गते सम्मको समय छ । एमालेले अझै समय बाकी रहेको हुँदा हतार नगर्न मुख्यमन्त्रीलाई सुझाब दिएको छ । बझाङबाट नव निर्वाचित दमन भण्डारीले शपथ लिन बाँकी छ । एमालेले उनको शपथ ग्रहण पछि मात्रै विश्वासको मतको विषयमा छलफल हुने बताउँदै आएको छ ।

यता असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले सदन अवरोध गर्ने निर्णय गरेको निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले बताए । उनले सोडारीको नियुक्ति नै असंवैधानिक रहेको र त्यसविरुद्ध कांग्रेस न्यायालयमा पनि गइसकेको बताए ।

यता, बागमती प्रदेशमा एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकालाई मन्त्रालयको जिम्मेवारी नदिई बिनाविभागीय मन्त्री बनाइएको छ । गठबन्धनका दलहरू बीचमा अविश्वासको खाडल गहिरिँदै जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहीबार दुई घण्टा लामो छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। भेटपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको जानकारी दिँदै भने, ‘संसद्को बजेट अधिवेशन बोलाउने र संसद् सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको छ । संसद्को अधिवेशन बोलाउने सरकारको मामिला हो । संसद्को मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयहरूमा छलफल भयो ।’