शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गर्मी छल्न कम्युनिष्ट नेता विप्लव त्रिशुली नदीको र्‍याफ्टिङमा

बुधबार, बैशाख १९ २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष नेत्र विक्रम चन्द ’विप्लव’ गर्मी छल्नका लागि त्रिशुली नदीमा र्‍याफ्टिङ गर्न पुगेका छन् ।

विप्लव र उनको टीमले बेनिघाटदेखि खटौटीसम्म करिब तीन घण्टा र्‍याफ्टिङमा बिताएको त्रिशुली रिभर साइड रिसोर्टका सञ्चालक उद्धव कँडेलले बताए । र्‍याफ्टिङका क्रममा उनले प्याडल गेमका साथ क्लिफ जम्प समेत गरेका थिए । विप्लवले निकै रुचिपूर्वक र्‍याफ्टिङ गरेको कँडेल बताउँछन् । उनका अनुसार विप्लवले र्‍याफ्टिङ गर्दा विभिन्न गीत गाएर रमाउँदै मजा लिएका थिए ।

“विप्लवको नेतृत्वमा स्थानीय नेताहरु पनि यहाँ आउनुभएको थियो, गर्मी छल्नकै लागि योजना बनाएर र्‍याफ्टिङ गर्न आउनुभएको रहेछ”, कँडेलले भने, “र्‍याफ्टिङपछि निकै रमाइलो मानेर फर्कनुभयो ।”र्‍याफ्टिङ गर्दा आफूलाई निकै रमाइलो भएको र काठमाडौँ नजिकैको यो ठाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण भएको सो अवसरमा विप्लवले बताएका थिए । विप्लवले आफू र आफ्नो पार्टीले पर्यटकीय प्रबर्द्धनमा जोड दिएको भन्दै मुलुकको पर्यटक प्रबर्द्धनमा सक्दो सहयोग गर्ने समेत बताएका थिए ।

हाल रिभरसाइड रिसोर्टले र्‍याफ्टिङसँगै जिपलाइन र स्काइ साइक्लिङको सुविधा पनि उपलब्ध गराएको छ । आवासीय पर्यटकलाई बस्नका लागि रिसोर्ट र भिल्ल्ला समेत निर्माण गरिएको छ । पछिल्लो समय र्‍याफ्टिङ लगायतका पर्यटकीय गतिविधिका लागि उल्लेख्य सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।