काठमाडौं । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा निकै दरार आउन थालेको छ । नेपाली समाजमा पछिल्लो समय भइरहेको सामाजिक र आर्थिक आयामको रूपान्तरणको प्रभावले विवाहित दम्पतीको सम्बन्धमा असर गरिरहेको जानकारहरू बताउँछन्।
व्यस्त जीवनशैली, परिवारलाई दिइने समय भन्दा बाहिरी कामको तनाव आदि कारणले हाम्रो दैनिक जीवन व्यस्त हुँदा पारिवारिक संरचना भने भत्किँदै गएका कयौं उदाहरण छन् । अपवादमा अरु कारण पनि हुन सक्छन् तथापि श्रीमान/श्रीमतीबीच विश्वास, सद्भाव, समर्पणले मात्र दाम्पत्य जीवन सफल हुने कुरालाई कसैले नकार्न सक्दैन ।
विवाहपछि पति–पत्नीबीचको सम्बन्ध जन्म–जन्मान्तरको मानिन्छ। एकपटक विवाह गरिसकेपछि जस्तोसुकै परिस्थितिमा पनि तोड्न मिल्दैन भनिन्छ। त्यसैले त विवाह गर्दा अग्निलाई सात फेरा लगाई ध्रुव र तारालाई साक्षी मानी दुई शरीर र आत्मा एउटै भएको वा बाँधिएको संकल्प गरिन्छ।
पछिल्ला पाँच आर्थिक वर्षको आँकडा हेर्ने हो भने नेपाली समाजमा एकै वर्ष सयौंको आफ्नै जीवनसाथीबाट हत्या हुने गरेको छ। आखिर याे सबै दाम्पत्य जीवनमा दरारका कारण हुने गरेकाे हाे ।
आजीवनसँगै जीउने कसम खाएका धेरै युवा जोडीमा पछिल्ला दिनहरु बीचमै टुट्ने र तोडिने भइरहेका छन् । थाहै नपाइ एक अर्काबीच बैचारिक द्वन्द्व बढेको छ । धेरै घरहरुमा पारिवारिक बेमेलको अवस्था छ । जसका कारण दाम्पत्य जीवनमा खटपट र उतारचढाव आइरहेको छ । एकले अर्कालाई विश्वास गर्ने आधार टुटिरहेको छ । सानोतिनो समस्याले पनि सम्बन्ध नै समाप्त भइरहेको छ । आखिर कारण के हो त ? यसबारे यहाँ सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।
नेपाली समाजको दाम्पत्य जीवन स्त्री मैत्री अझै हुन सकेको छैन । कतिपय दम्पत्ती बिच आर्थिक कारणबाट पनि खट्पट हुन्छ भने कतिपय पुरुषभित्रको पुरातन र हैकमवादी साेचका कारण पतिले पत्निमाथी निर्मम उत्पिडन पनि भइरहेका हुन्छन् । नेपाली समाजमा खस ब्राह्मणहरूको दाँजोमा जनजाती समुदायको दाम्पत्य जिवन भने केही मज्बुत पनि देखिन्छ ।
भनिन्छ, दाम्पत्य जीवनमा माया प्रेम पहिलो शर्त हो । बिना मायाप्रेमको दाम्पत्य न त टिकाउ हुन्छ न त कर्तव्य । र त्यो चाँडै भत्कन सक्छ । संसारभरका मानिसहरूको जन्म र विकास यसरी नै भएको हो ।
दम्पतीबीचको दरारको अर्को महत्वपूर्ण पाटो हो यौन । धेरैजसो दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । दम्पतीबीच सुताईको पोजिसनलगायत घुर्ने आदी बानीका कारण पनि सम्बन्ध चिसिदैँ गएका कुरा सुन्न पाइन थालेको छ । साथै अझ फिका यौन–जीवनले त झन् दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण भूमिका रहन्छ ।
यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया सही हो । जसले पारिवारिक सम्बन्ध कसिलाे बनाउन सहयाेग गर्छ ।
दाम्पत्य सम्बन्ध दिगो बनाउन धर्म, संस्कृति, कानुन आदि नीतिहरूले संहिता निर्माण गरेका हुन्छन् र सोही संहिताको आधारमा समाज चलिरहेको हुन्छ । दाम्पत्य जीवनमा स्त्री वा पुरुषको बिछोड भयो भने उनीहरूको जीवन चल्न निकै कठिन हुने गर्छ । दाम्पत्य सम्बन्धलाई दास र मालिक जस्तो वा पश्चिमा स्वतन्त्रता र उन्मुक्त जस्तो हुँदै गए नेपाली समाजले पचाउन सक्दैन । तर यसको मतलव एक अर्काप्रतिको स्वतन्त्रता हनन भने पक्कै हुनु हुँदैन । एक अर्काको भावनालाई गहिरोसित बुझ्ने, माया प्रेम र सम्मान गर्न सक्नु पर्दछ । विभेद वा बैमनस्य निम्त्याउने बिषयमा आपसमा सल्लाह छलफल गरि निष्कर्षमा पुर्याउन अभ्यास गरियो भने सुखद दाम्पत्य बिताउन सकिन्छ ।
पतिपत्नीले एक–अर्काको विचार तथा भावनाको सम्मान वा कदर नगर्दा मनमा गहिरो चोट लाग्न सक्छ । मानिसले सबै कुरा गुमाउन सक्छ, तर आत्मसम्मान गुमाउन चाहँदैन । त्यसैले दाम्पत्य जीवन सुखमय बनाउन एक–अर्काप्रति सम्मान गर्नुपर्छ । धेरै दम्पतीको एउटै गुनासो हुन्छ, ‘तिमीले मलाई बुझेनौ ।’ त्यसैले एक–अर्कालाई बुझ्नु भनेको एक–अर्काप्रतिको विचार, भावना र व्यवहारप्रतिको सम्मान गर्नु हो । पार्टनरलाई छल्ने, ढाँट्ने प्रवृत्ति छ भने त्यो सबैभन्दा हानीकारक हुन्छ । भनिन्छ एक पटकको चोर सधैँको चोर । त्यसैले अन्जानवस कुनै गल्ति वा कमजोरी गर्न पुगिएको छ भने त्यो कुरा पार्टनरले चाल पाएर सोधेको खण्डमा नलुकाइ भनिदिनु उचित हुन्छ । र त्यस्ता कमजोरी पुन नदोहोर्याउने वाचा गरेर सम्बन्धलाई प्रगाढ बनाउन तिर लाग्नु पर्छ ।