शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नागिंदै धितोपत्र बोर्ड अध्यक्ष हमाल: दोस्रो स्टकको लाइसेन्स् दिन सक्रिय

मंगलबार, मंसिर २६ २०८०

काठमाडौँ । २०८० पुस महिनाको २१ गतेदेखि अनिवार्य अवकाशमा जाने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल अझै विदामा नबसेर के के षडयन्त्र गर्दैछन् भन्ने प्रश्न उठेको छ । बिचौलिया दीपक भट्टको इसारा र निर्देशनमा चल्दै आएका स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स प्रक्रिया तथा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने सम्बन्धमा विवादमा मुछिदै आएका हमाल २०८० मंसिर २० गतेदेखि नै बिदामा बस्नुपर्ने थियो ।

उच्चपदस्थ कर्मचारीहरु अनिवार्य अवकाशमा जानुभन्दा एक महिना पहिलेदेखि बिदामा बस्ने चलन रहिआएको छ । तर, अध्यक्ष हमालको बोर्ड मोहले भने धितोपत्र बोर्डका अन्य सदस्य र कर्मचारीहरु अचम्ममा परेको अर्थ मन्त्रालय स्रोत बताउछ ।

बोर्डका कर्मचारीहरुले अनिवार्य अवकाशमा जान लागेका अध्यक्षका हातबाट दोस्रो स्टक एक्सचेञ्जको लाइसेन्स फुत्काउन ब्यापारी र बिचौलियाहरुले दिएको दबाव र चलखेलका कारण बोर्डको स्वतन्त्रतामाथि नै हस्तक्षेप भएको उल्लेख गरेर प्रेस विज्ञप्ति समेत जारी गरिसकेका छन् । दस अर्ब रकम घुस ख्वाउने तयारीमा रहेको व्यवसायिक साख नभएका व्यापारिक धरानाको अनुकूल हुने गरी काम हुनसक्नेप्रति कर्मचारीहरुले सरोकारवालालाई सजग समेत गराएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु राणा(देउवा)लाई खुसी बनाएर अध्यक्षमा आएका हमालले आफ्ना लागि लगानी गरेको ब्यापारिक समूह र दीपक भट्टलाई दोस्रो स्टक एक्सचेञ्जको लाइसेन्स दिलाउन भएभरको शक्ति लगाइरहेका छन् ।

आफ्नै हातबाट लाइसेन्स दिन उद्यत हमालले दीपक भट्ट जस्ता बिचौलिया र बद्नाम ब्यापारीहरुको सहयोगमा २०८० कार्तिक महिनामा तिहारको बिदा सुरुहुनुभन्दा अघिल्लो दिन कात्तिक २४ गते संसदको अर्थ समितिबाट रातारात स्टक एक्सचेञ्जको रोकिएको प्रक्रिया खुलाउने निर्णय गराएका थिए । स्मरण रहोस्, संसदको अर्थ समितिले नै २०८० जेठ २७ गते यो प्रक्रिया स्थगन गर्ने निर्णय गरेको थियो ।

अर्थ समितिले निर्णय गर्नु पहिले नै २०८० बैशाख २६ गते मन्त्रिपरिषद्को बैठकले दोस्रो स्टक एक्सचेञ्ज सञ्चलानार्थ आरम्भ भएको प्रक्रिया विवादमा परेको भन्दै अगाडि नबढाउने र सो निर्णयको जानकारी अर्थ मन्त्रालयमार्फत नेपाल धितोपत्र बोर्डलाई दिने निर्णय गरेको थियो ।

नेपाल सरकारले सो निर्णय अझै फेरेको छैन् । एनसेलको स्वामित्व विक्रीका विषयमा विवाद आएर महागठबन्धन सरकार र सत्तारुढ दल तथा प्रतिपक्षी दलहरु बद्नाम भैरहेको बेलामा सरकारले विवादित विषयलाई अगाडि बढाउने संभावना कम छ । तर, शक्ति केन्द्रहरु परिचालन गरेर जस्तोसुकै काम पनि हात पार्दै आएका दीपक भट्टहरुको चलखेलका कारण ढुक्क हुनसक्ने अवस्था छैन् ।

हमालमाथि लगानी गरेका व्यापारीहरुले उनको यही कार्यकालमा लाइसेन्स फुत्काउनु पर्ने अडान लिएर जोडतोडले दवाव दिइरहेको चर्चा छ । हमाललाई स्टक एक्सचेञजमा फिट गर्ने दीपक भट्टहरु २०८० पुस २० गतेसम्म पनि लाइसेन्स फुत्काउन संभव नदेखिएमा बोर्डको भावि अध्यक्षको रुपमा हमाललाई नै पुन नियुक्ति दिलाउन पनि आरजु देउवा गंगा दाहाल परिचालनमा सक्रिय भएर लागि परिरहेको स्रोत बताउछ ।साँघु साप्ताहिकबाट